(१) यो दफा प्रारम्भ हुनु भन्दा अगावै उखडा जग्गा दर्ता गर्ने सम्बन्धमा तोकिएको अदालतमा सम्बन्धित पक्षले म्याद तारेख गुजारी डिसमिस भएको वा नागरिकताको प्रमाणपत्र पेश गर्न नसकेकोले खारेज भएको वा तामेलीमा रहेको वा एक पक्षले म्याद तारेख गुजारी अर्को पक्षको हकमा समेत खारेज भएको वा तामेलीमा रहेको मुद्दा पुन जगाई कारवाई गराउन चाहने व्यक्तिले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्याद भित्र तोकिएको अदालतमा निवेदन दिएमा, तोकिएको अदालतले त्यसरी डिसमिस वा खारेज भएको वा तामेलीमा रहेको मुद्दा पुन जगाई कारवाही र किनारा गर्न सक्नेछ ।
(२) कुनै जग्गाधनी वा किसानले दफा ५ को उपदफा (१) बमोजिमको विवरण म्यादभित्र पेश नगरेको कारणबाट उखडा जग्गा दर्ता हुन नसकेकोमा तोकिएको अदालतले म्याद तोकी सो म्यादभित्र दफा ५ को उपदफा (१) बमोजिमको विवरण प्राप्त हुन आएमा सो विवरणको आधारमा समेत तोकिएको अदालतले उखडा जग्गा दर्ता गर्ने सम्बन्धी कारवाही गर्न सक्नेछ ।
(३) यो दफा प्रारम्भ हुनु भन्दा अगावै तोकिएको अदालतले उखडा जग्गा दर्ता गर्ने सम्बन्धमा गरेको फैसला उपर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्याद भित्र तोकिएको अदालतमा पुनरावेदन लाग्नेछ ।